कीर्तिपुर नगरपालिकामा आउँदो मंसिर १६ गतेको उपनिर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो चुनावी प्रचार अभियानलाई तिव्रता दिएको छ। अन्य दल र स्वतन्त्र उम्मेदवारहरू महिनौँ अघि नै चुनावी मैदानमा सक्रिय भएका बेला, एमालेले भने गत शनिबार एक चियापान कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको हो।
चियापान कार्यक्रममा नेकपा (एमाले) ले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवारको रूपमा घोषणा गर्यो। साथै, वडा नं. १ को वडा अध्यक्ष पदमा हर्ष महर्जन र वडा नं. ४ को वडा अध्यक्ष पदमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाएको छ। यससँगै उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर आफ्नो प्रतिवद्धता प्रस्तुत गर्न र नगरवासीको समर्थन माग्न लागिपरेका छन्।
नेकपा (एमाले) ले यो उपनिर्वाचनलाई कीर्तिपुरको विकास र समृद्धिको दिशामा एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताउँदै, जनतासँग नजिक रहने र उनीहरूको अपेक्षामा खरा उत्रने आश्वासन दिएको छ। पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले चियापान कार्यक्रममा सहभागी हुँदै एमालेको तर्फबाट अघि सारिएका उम्मेदवारहरूलाई परिचय गराएका थिए।
चुनाव प्रचारको अन्तिम घडीमा एमालेले आफ्ना उम्मेदवारहरूलाई घोषणा गर्दै प्रचारमा फड्को मार्नुले कीर्तिपुरको राजनीतिक परिदृश्यलाई थप रोचक बनाएको छ। अबको केही दिनमा एमालेका उम्मेदवारहरू नगरबासीको विश्वास जित्न विभिन्न कार्यक्रम तथा छलफलहरूमा सहभागिता जनाउँदै चुनावी अभियानलाई थप व्यापक बनाउने योजनामा छन्।
तस्बिर : राजकमल महर्जन