कीर्तिपुर नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार, कानुन व्यवसायी तथा समाजसेवी नरेश श्रेष्ठको चुनावी अभियानले निरन्तरता पाउँदै आज वडा नं १० अन्तर्गत नयाँबजारदेखि नगाँउ दोबाटोसम्म ‘घरदैलो अभियान’ चलायो। मंसिर १६ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै विगत दुई महिनादेखि श्रेष्ठ स्थानीय जनताको आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा घरदैलो मार्फत जनतासँग संवाद गरिरहेका छन्। आफ्नो चुनावी अभियानलाई प्रभावकारी र जनताको समस्यामाथि आधारित बनाउन श्रेष्ठले घरदैलो अभियानलाई मुख्य प्राथमिकता दिएका छन्।
श्रेष्ठको अभियानलाई समर्थन जनाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरू समेत सहभागी भएका छन्। केही वर्षअघि जातीय भेदभाव र छुवाछुतको मुद्दामा अन्यायमा परेकी सरस्वती प्रधानलाई न्याय दिलाउन भूमिका खेलेका श्रेष्ठकै कारण सरस्वती प्रधान पनि आज उनको अभियानमा सँगै थिइन्। प्रधानको पक्षमा खडा भएर उनले कानुनी मुद्धा लडेर न्यायको स्थापना गरेका थिए, जसले श्रेष्ठलाई जनताको वकिलका रूपमा परिचित गराएको थियो।
त्यस्तै, ललितपुर उपमहानगरपालिकाको वडा नं ११ का बासिन्दाहरूसँग विद्युत शवदाहस्थल राख्ने निर्णयको विपक्षमा लामो समयसम्म कानुनी र सामाजिक लडाइँ लडेका श्रेष्ठको प्रयास सफल भएको थियो। यस अभियानका क्रममा स्थानीय जनताको मुद्धामा अविचलित रुपमा उभिन सक्ने गुणका कारण, उनीप्रति स्थानीय स्तरमा बलियो समर्थन रहेको छ। आज ती स्थानिय नागरिक पनि श्रेष्ठको कीर्तिपुर मेयर पदका लागि चलिरहेको अभियानमा ऐक्यबद्धता जनाउँदै सामेल भएका थिए।
श्रेष्ठको घरदैलो अभियानले उनीप्रति जनताको विश्वास, समस्याप्रतिको संवेदनशीलता, र समाजका वास्तविक मुद्दालाई न्यायिक दृष्टिकोणबाट समाधान गर्ने प्रतिबद्धताको झल्को दिएको छ। यस चुनावी घरदैलो कार्यक्रममा उनले आफ्ना मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरि, जनताको आवाजलाई केन्द्रमा राखेर अघि बढ्न प्रतिबद्ध रहेको सन्देश दिएका छन्।