कीर्तिपुर नगरपालिकामा आइतबार बिहानदेखि जारी स्थानीय तहको उपनिर्वाचनमा दिउँसो ३:३०बजेसम्म १९ हजार ३०५मत खसेको छ।
निर्वाचन आयोगका अनुसार, नगरप्रमुखसहित वडा नम्बर १ र वडा नम्बर ४ का वडाध्यक्षका पदका लागि भइरहेको उपनिर्वाचनमा कुल ३१ हजार १ सय २२ मतदातामध्ये उल्लेखनीय सहभागिता देखिएको छ। मतदान बिहान ७ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म जारी रहने छ।
कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा कुल २ हजार ६१५ मतदाता रहेको छ भने वडा नम्बर ४ मा ४ हजार ४५२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
बिहानैदेखि मतदान केन्द्रमा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ। निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ।
कीर्तिपुर नगरपालिकामा यसपटकको उपनिर्वाचनलाई नागरिक तहबाट विशेष चासोका रूपमा हेरिएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरूसँगै स्वतन्त्र उम्मेदवारहरूको प्रतिस्पर्धा रहेको यस निर्वाचनमा जनताले आफ्नो प्रतिनिधि चयन गर्न उत्साहजनक रूपमा सहभागीता जनाएका छन्।
मतदान कार्य सकिएपछि मतगणना सुरु हुने अपेक्षा गरिएको छ। यसपटकको निर्वाचनले नगरपालिकाको नेतृत्वमा कस्तो परिवर्तन ल्याउने हो, त्यो परिणामपछि मात्र थाहा हुनेछ।