नेपालको संविधानले स्थानीय तहलाई स्वायत्त सरकारको रूपमा कानूनी अधिकार दिएको छ। कानुन निर्माणदेखि कार्यान्वयनसम्मको दायित्व पाएको स्थानीय सरकारहरूले प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। यसै सन्दर्भमा, स्थानीय तहका नगर प्रहरी (नगर रक्षक) एक महत्त्वपूर्ण अंगका रूपमा स्थापित भएका छन्। नगर प्रहरीको सहयोगमा कतिपय स्थानीय तहहरूले उदाहरणीय काम गरेका छन्, जसमा काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा फिर्ता गर्न, बजार व्यवस्थापन सुधार्न, र नगर सौन्दर्यता अभिवृद्धि गर्न देखाएको सक्रियता प्रमुख छ।
तर, पछिल्लो समय नगर प्रहरी र निजी सुरक्षा कम्पनीहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र नेपाली सेनाको जस्तै पोशाक र दर्जनी चिन्नको प्रयोग गर्दा जनस्तरमा भ्रम उत्पन्न भएको गुनासो व्यापक रूपमा उठ्दै आएको छ। यसले सुरक्षा निकायप्रति जनविश्वास घटाउने मात्र होइन, आपराधिक क्रियाकलापलाई समेत बढावा दिने गरेको पाइएको छ।
गृह मन्त्रालयको स्पष्ट निर्देशन
यस समस्यालाई सम्बोधन गर्न गृह मन्त्रालयले २०८१ असोज १४ मा जारी गरेको परिपत्रमा संघीय सुरक्षा निकायसँग मिल्दोजुल्दो पोशाक र दर्जनी चिन्न प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
मुख्य निर्देशनहरू
- पोशाकमा प्रतिबन्ध:
कुनै पनि सरकारी वा गैरसरकारी निकायले नेपाली सेना, नेपाल प्रहरी, वा सशस्त्र प्रहरी बलको पोशाकसँग मिल्दोजुल्दो पोशाक प्रयोग गर्न नपाउने। - दर्जनी चिन्नको प्रयोगमा रोक:
सुरक्षा निकायको चिन्नसँग मेल खाने चिन्ह प्रयोग गर्ने संस्थाहरूलाई कानुनी कारबाहीको चेतावनी। - पालना सुनिश्चित गर्न निर्देशन:
सातै प्रदेशका प्रशासन कार्यालयहरूलाई परिपत्र कार्यान्वयनमा कडाइ गर्न निर्देशन।
सुरक्षा निकायप्रतिको विश्वास संरक्षणमा योगदान
गृह मन्त्रालयको यो कदमले सुरक्षा निकायको छवि संरक्षण गर्ने, आपराधिक गतिविधिमा रोक लगाउने, र जनतामा सुरक्षा निकायप्रतिको विश्वास अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।
समस्या र समाधानको आवश्यकता
नेपालमा नगर प्रहरीको पोशाक र चिन्हको स्पष्ट व्यवस्थापनको अभावले सुरक्षा निकाय र नगर प्रहरीबीच भिन्नता छुट्याउन कठिन बनाएको छ। यसले शान्ति-सुरक्षामा चुनौती उत्पन्न गरेको छ भने आपराधिक समूहहरूले यस्तै पोशाकको दुरुपयोग गरेको तथ्य समेत बाहिर आएको छ। गृह मन्त्रालयको निर्देशनले यी समस्यालाई सम्बोधन गर्न मार्गप्रशस्त गरेको छ।
नेपाल सरकारको यो कदम कार्यान्वयनमा दृढ इच्छाशक्ति आवश्यक छ, जसले सुरक्षा प्रणाली सुदृढ बनाउन मद्दत पुर्याउनेछ।