काठमाडौँ महानगरपालिकाले साँघुरा सडक र गल्लीमा हुने आगलागी नियन्त्रणका लागि ड्राइराइजर प्रणाली जडान गरिरहेको छ। यो कार्य विपद् व्यवस्थापन विभागको केन्द्रीय योजनाअन्तर्गत कार्यान्वयनमा आएको हो। केन्द्रीय योजनामा नपरेका ठाउँहरूमा सम्बन्धित वडाहरूले वडाको बजेट प्रयोग गरी यो प्रणाली स्थापना गरिरहेका छन्।
केन्द्रीय योजनाअन्तर्गत वडा नं. ३ को सुरुङ् गल्लीमा ८२ मिटर, वडा नं. ७ को कुटी गल्लीमा २०७ मिटर, र वडा नं. ६ को संगम टोलमा २२८.२० मिटर पाइप जडान भइसकेको छ।
त्यस्तै, वडा नं. १० का पाँच गल्लीमा पाइप जडान गरिएको छ। मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर, र कलाकार गल्लीमा १७२ मिटर पाइप राखिएको छ।
वडा नं. १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर पाइप जडान गरिएको छ भने वडा नं. १६ मा फुलबारी गल्लीमा १६७.८० मिटर र बगैँचा गल्लीमा २५२.५५ मिटर पाइप जडान भएको छ। यसैगरी, वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर, र ज्यापू मार्गमा १७४.२० मिटर ड्राइराइजर पाइप जडान गरिएको छ।
पाइप जडान भएका स्थानमा जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरूले परीक्षण गरिरहेका छन्। वडा नं. २१ को ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म १३० मिटर पाइप जडान गरी गत वर्ष नै परीक्षण गरिएको थियो। यसको लागत करिब आठ लाख रुपैयाँ रहेको महानगरपालिकाले जनाएको छ।
वडा नं. २५ को मांस गल्ली हुँदै महाबौद्धतर्फको गल्ली र वडा नं. २९ को कालिञ्चोक मार्गमा पनि ड्राइराइजर प्रणाली जडान भइसकेको छ।
ड्राइराइजर सुख्खा पाइप प्रणाली हो, जुन दमकल जान नसक्ने साँघुरा गल्ली र सडकमा आगलागी नियन्त्रण गर्न उपयोग गरिन्छ। प्रणालीमा दुवैतर्फ दमकलको पानी राख्न मिल्ने इनलेट भल्भ राखिएको हुन्छ। इनलेटबाट ४५ देखि ७५ मिटरको दुरीमा आउटलेट जडान गरिन्छ।
दमकलले ८ बार प्रेसरमा पानी पठाउँदा ७ तले भवनमा समेत आगो निभाउन पर्याप्त दबाबको पानी पुग्छ। आउटलेट खोलेर डेलिभरी होर्ज जोड्दै आगो नियन्त्रण गर्न सकिने यो प्रणालीले महानगरका जोखिमयुक्त क्षेत्रहरूमा आगलागी नियन्त्रणलाई प्रभावकारी बनाएको छ।
महानगरपालिकाले ड्राइराइजर प्रणालीको जडानलाई तीव्रता दिँदै आगलागीबाट जनधनको क्षति न्यून बनाउन प्रयासरत रहेको छ।