कीर्तिपुर, माघ २१ – कीर्तिपुरमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। श्रीपञ्चमीको अवसर पारेर वडा नं. ६ चोभार गेटस्थित सशस्त्र प्रहरी नीलवाराही गणको प्रवेश मार्ग नजिक साझा चार्जिङ सेन्टर स्थापना गरिएको हो।
नगर प्रमुख कृष्णमान डंगोलले एक औपचारिक कार्यक्रमबीच चार्जिङ स्टेशनको समुद्घाटन गर्नुभएको छ। कार्यक्रममा चार्जिङ सेन्टरका सञ्चालक गौरव श्रेष्ठको सभाध्यक्षता रहेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहपछि प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई विद्युतीय सवारीसाधनमा चोभारदेखि जलविनायकसम्मको टेष्ट ड्राइभ गराइएको थियो। विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्दै दिगो तथा हरित यातायात प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको आयोजकले जानकारी दिएको छ।