कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव मन्दिर परिसरबाट १७औं शताब्दीमा निर्मित ऐतिहासिक गणेशको मूर्ति चोरी भएको थियो। हाल उक्त मूर्ति अष्ट्रियाको जैके ग्यालरीमा बिक्रीका लागि राखिएको छ। मूर्ति आगामी अप्रिल १० र ११ (चैत्र २८ र २९) मा लिलामी प्रक्रियामा सहभागी गराइने जानकारी सामाजिक अभियन्ता लिसा डंगोलले सार्वजनिक गरेकी छिन्।
लिसा डंगोलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन्, “उक्त मूर्ति कीर्तिपुरबाट चोरी भएपछि अमेरिकाको सान फ्रान्सिस्कोस्थित संग्रहालयमा फेला परेको थियो। पछिल्लो पटक संग्रहालयको वेबसाइट जाँच गर्दा उक्त मूर्ति सूचीबाट हटाइएको पाइयो। यसबारे कीर्तिपुर नगरपालिकासँग पनि अनुरोध गरिएको थियो। तर, अहिले यो मूर्ति अष्ट्रियामा २० हजार युरो मूल्य तोकी लिलामीका लागि राखिएको छ।” उनले कीर्तिपुर नगरपालिकालाई तत्काल पहल गर्न आग्रह गरेकी छिन्।
हाल नेपालमा विभिन्न चोरी भएका मूर्तिहरू फिर्ता ल्याउने अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। यस्तो अवस्थामा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको कीर्तिपुरको यो मूर्ति विदेशमा लिलामी हुन लाग्नु गम्भीर विषय हो। यस सम्बन्धमा कीर्तिपुर नगरपालिका, नेपाल सरकार, सरोकारवाला निकायहरू तथा स्थानीय समुदायको तत्काल ध्यान आवश्यक छ।
गणेश मूर्ति हराएपछि सोही स्थानमा स्थानीयवासीहरूले विसं २०५९ मा नयाँ मूर्ति प्रतिस्थापन गरेका थिए। तथापि, मौलिक मूर्ति फिर्ता ल्याउन सरकारी निकायहरूले प्रभावकारी पहल गर्न आवश्यक देखिन्छ।




