काठमाडौं, असार २८ – नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–२२ स्थित प्यूखा क्षेत्रबाट दुई करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका बिलविनाका सुन, हीरा र बहुमूल्य पत्थरका गरगहनासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक ९एसपी० अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा भारतको कोलकाता निवासी ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख रहेका छन्।
प्यूखा कृष्णचोकमा अवस्थित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ नामक गहना पसलमा बिल र दस्तावेजबिनै सुन, चाँदी, हीरा तथा अन्य बहुमूल्य पत्थरका गरगहना बिक्री भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट संयुक्त टोली खटिएको थियो।
पसलमा गरिएको नियमित खानतलासीका क्रममा जम्मा रु २,०१,७८,३६० मूल्य बराबरका बिलविनाका गरगहना फेला परेको प्रहरीले जनाएको छ। बरामद गरगहनामा सुन, हीरा र विभिन्न प्रकारका मूल्यवान पत्थर प्रयोग भएका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग पठाइएको छ।