Sunrise appliances
Homeकृषिउच्चपहाडी भेगमा आलु उत्पादन गर्ने परम्परागत प्रविधि बुख्याँचा अर्थात बुङ आलु खेतीका...

उच्चपहाडी भेगमा आलु उत्पादन गर्ने परम्परागत प्रविधि बुख्याँचा अर्थात बुङ आलु खेतीका बारे जानाैँ

यो प्रविधि लेकाली भेगका पाखामा प्रयोगमा आउँछ । सामान्यतया भिरालो पाखामा बुङको आलु रोपिन्छ । एक पटक रोपिएको ठाउँमा ४ देखि ५ वर्षदेखि ८-९ वर्षसम्म खेती गरिन्न । त्यसरी ८-९ वर्षसम्म बारीमा जम्मा भएका झाडी, झ्याउ र बुट्यान काटेर, खनेर सुक्न दिइन्छ। खनेका छपरीसँग काटेका झाडी सुकेपछि माटोले छोपेर यसलाई थुप्रो (बुङ) बनाएर डढाइन्छ।

डढेको खरानीलाई दुई-तीन दिन सेलाउन दिइन्छ। केही दिनपछि त्यही बुङमा ८ देखि १५ वटासम्म आलुको दाना रोपिन्छ। बुङको आकार गोलो हुने गर्छ। बुङको तयारी पुस माघमा गरेर आलु फागुनमा रोपिन्छ। यसरी रोपेको आलु भदौमा तयारी हुन्छ। बुङमा परम्परागत रूपमा उत्पादन हुँदै आएको आलु खुमल रातो (रातो आलु) हो।

प्रायः आलु रोप्दा सिँगै बीउ रोप्ने र बीउ ठूलो भएमा काटेर रोप्ने गरिन्छ । बीउको बीचमा कम्तीमा १० देखि १५ सेन्टिमिटर दूरी खाली राखेर रोपिन्छ। झारपात डढाएर बनेको खरानीमा आलु रोपिसकेपछि त्यसलाई वरिपरिको माटोले छोपिन्छ । पुर्ने माटो २ देखि ३ इन्च राखिन्छ ।

ओखलढुंगामा सिद्धिचरण नगरपालिका, खिजीदेम्बा गाउँपालिका र चिसंखुगढी गाउँपालिकाको लेकाली भेग बुङमा आलु उत्पादन हुन्छ। जन्तरखानी, टोड्के, राँगादीप, पात्ले, गैरीलगायत तीन सय हाराहारीका किसानले बुङ आलु खेती गर्छन्।

बुङको रक्षक बुख्याँचा

यसरी उत्पादन भएको आलु स्वादिष्ट हुने भएकाले माग पनि बढी हुन्छ। लेकतिर पाखाबारी वरिपरि झाडी र जंगल हुनेभएकाले बुङको आलुमा जंगली जनावरले धेरै क्षति गर्छ। राति समेत रोपेको बुङ खोस्रेर बिउ नै खानेदेखि विरुवा, फलसमेत मृग, घोरल, मयुर, कालीज लगायतका जनावरले क्षति गर्छ।

यसरी क्षति गर्न आउने जनावर तर्साउन स्थानीयले मान्छेजस्ता बुख्याँचा बनाउँछन्। झट्ट हेर्दा कपडा लगाएका, हावाले हल्लिने भएकाले चहलपहल गरेजस्ता देखिने बुख्याँचा बिचबिचमा बनाउँदा जंगली जनावर तर्सेर भाग्ने भएकाले क्षति कम गर्न बुख्याँचा राखिने सिद्धिचरण नगरपालिका ६ का किसान जयबहादुर मगर बताउँछन्। यतिबेला बुङभरि बुख्याँचा नै बुख्याँचा देख्न सकिन्छ। त्यसका अतिरिक्त जस्ताका टुक्राबाट पेण्डुलम (हल्लिइ रहने) बनाउने, ध्वजातका राख्ने, (हावा आउँदा आवाज निस्कोस् भनेर) काम पनि किसानले गर्छन्। सधैं रुगेर बस्न नभ्याइने भएकाले उनीहरुले बुङको आलु जोगाउन बुख्याँचा बनाएका हुन् ।

तस्बिर :सुमन मगर /रामेछाप

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू