Sunrise appliances
Homeमुख्य समाचारमन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

ललितपुर- ललितपुर महानगरपालिका–१८ भैँसीपाटीस्थित सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि यस गाउँको परिचय हराउँदै गएको छ। सङ्घीय मन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ। 

शाहकालीन राज्यदेखि नै मगर गाउँको इतिहास छ। नेपाल एकीकरण गर्ने क्रममा बहादुर मगर जातिले आफूलाई ठूलो सहयोग गरेको भन्दै विसं १७६९ मा पृथ्वीनारायण शाहले ललितपुरको भैँसीपाटीमा गोरखा जिल्ला पिपलथोक धातथलोका जगजजित थापालाई पाँच सय रोपनी जग्गा लालमहोहर लगाएर दिएको इतिहास शिलालेखमा उल्लेख गरिएको इतिहासका जानकार एवं स्थानीय राजेश पन्त बताउँछन्। 

काठमाडौँ उपत्यकालाई अन्य राज्यको आक्रमणबाट जोगाउन एकीकरण अभियानमा महत्वपूर्ण सहयोग गरेका साहसी र बहादुर मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न उपत्यकाको विभिन्न स्थानमा जग्गा दिई बसोबास गराउने क्रममा भैँसेपाटीमा पाँच सय रोपनी जग्गा दिइएको मगर गाउँमा स्थापित शिलालेखमा उल्लेख छ। 

समयअनुसार बस्ती बढ्दै गएपछि ललितपुरको सैँबु मगर गाउँको नामले परिचित भएको थियो। गोरखा जिल्लाका थापा मगर बसाइँ सरेर सैँबु मगर गाउँमा आएपछि पिपलबोट रोपेको इतिहास पनि शिलालेखमा उल्लेख गरिएको छ। त्यही पिपलको रुख भएको ठाउँलाई अहिले मगर गाउँ चोकको नामले चिनिन्छ।  

शहरीकरण बढ्दै गएपछि मगर गाउँमा सबै समुदायको बसोबास हुँदै आएको स्थानीय बताउँछन्। मन्त्री आवास निर्माण सुरु भएदेखि आवास क्षेत्रमा बाटो फराकिलो हुनुपर्छ भनेर स्थानीयले विरोध गरिरहेका स्थानीय पन्तले बताए। उनले भने, ‘मन्त्री निवास निर्माण गर्ने बहानामा ऐतिहासिक बस्तीको बेवास्ता गर्नुभएन। आवास क्षेत्र वरपर ११ मिटर चौडा बाटो चाहिन्छ भनेर विरोध गरेका हौँ।’ 

ऐतिहासिककालदेखि स्थापित भएको गाउँको परिचय गुम्ने हो कि भन्ने चिन्ता बढेको पन्तको भनाइ छ। उनले भने, ‘शहरीकरण बढ्दै गएपछि मगर गाउँको परिचय लोप नहोस् भनेर शिलालेख निर्माण गरेका छौँ। शिलालेखमा एकीकरणको समयमा मगर समुदायले पृथ्वीनारायण शाहलाई पुर्‍याएको योगदानका बारेमा उल्लेख छ।’

मगर गाउँ चोक छेउमा विसं २०६५ मा निर्माण गरिएको पशुपतिनाथ मन्दिर छ। त्यही मन्दिरको मुख्य गेटमा मगरगाउँको इतिहास झल्किने शिलालेख तयार गरिएको छ। मन्त्री आवास निर्माण नहुँदा आवास क्षेत्र खेतीयोग्य जमिन भएको पशुपतिनाथ मन्दिरका पुजारी सुदर्शन अर्यालले बताए। उनले भने, ‘पहिले यहाँ धान फल्थ्यो। अहिले हेर्दा हेर्दै ठूलाठूला भवन निर्माण भएका छन्।’ 

अहिले धेरैले मगर गाउँलाई मगर गाउँ नभनेर आवास क्षेत्र भन्ने गरेको पुजारी अर्यालले बताए। मगर गाउँको परिचय बिस्तारै हराउँदै गएको उनको भनाइ छ। मन्त्री आवास निर्माण भएपछि स्थानीयले फराकिलो बाटो र बस्ती सुरक्षा तथा पार्क हुनुपर्ने माग गर्दै आएका छन्। 

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण सकिए पनि सङ्घीय मन्त्रीको आवासको काम भने अझै सम्पन्न भएको छैन। 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू