काठमाडौं । चलचित्र निर्माता संघ, निर्देशक समाज र कलाकार संघले बिहीबार अलग-अलग विज्ञप्ति जारी गर्दै फिल्म ‘काँडेतार’लाई शान्तिपूर्ण वातावरणमा प्रदर्शन गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
फिल्म प्रदर्शन गरे निर्मातालाई भौतिक कारवाही गर्ने धम्की आएको भन्दै उनीहरुले यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण समेत भएको बताएका छन् ।
उनीहरुले धम्की कोबाट आयो भनेर उल्लेख गरेका छैनन् तर निर्देशक तथा निर्माता नवल खड्काले केही दिनअघि आदिवासी जनजाति अभियन्ता आङकाजी शेर्पाले धम्की दिएको भन्दै फेसबुकमा भिडियो सेयर गरेका थिए ।
यो भिडियो सार्वजनिक भएलगत्तै खड्काले आफू अध्यक्ष रहेको चलचित्र निर्माता संघ र चलचित्र संघमा उजुरी दिएका थिए । उनले आफूलाई धम्काइएको र राम्रो अकुपेन्सी हुँदाहुँदै फिल्म उतारिएको भन्दै उक्त उजुरीमा असन्तुष्टि पोखेका थिए ।
लचित्र निर्देशक समाजले विज्ञप्तिमा खड्काको शान्ति सुरक्षाको व्यवस्था गर्न तथा शान्तिपूर्ण वातावरणमा फिल्म देखाउनुपर्ने बताएको छ । चलचित्र कलाकार संघले निर्वाध रुपमा फिल्म चल्ने वातावरण कायम गर्नुपर्ने माग गरेको छ ।
चलचित्र निर्माता संघले खुलेआम धम्की दिनु अभिव्यक्ति स्वतन्त्रता र संविधानमाथिको बर्खिलाप भएको बताएको छ । फिल्म ‘काँडेतार’लाई यसका निर्माताले आइतबारदेखि देशभरका हलबाट उतारेका थिए ।