७०० वर्ष अघि देखि चलिआएको जिवित देवी कुमारी र त्यस प्रथाको इतिहासको जीवन्त नाटकीय रुप बत्तीसपुतली स्थित शिल्पी नाटकघरमा हेर्ने पाइन्छ । शिल्पी थिएटरमा जेठ १६ देखि मञ्चनरत यो साइलेन्ट एक्टले कुमारीको दर्शन र नारी शक्तिलाई जोडेको छ। जीवित देवीका रूपमा पुजिने कुमारी देवीको महिमा, उनीहरूको नीजि जीवन, सुख(दुःख र स्वतन्त्रता अनि देवीको रूपमा राष्ट्र सुरक्षा गर्ने जिम्मेवारीलाई नाटकले उजागर गरेको छ।
मुख्य पात्र पूर्वकुमारी अष्टलक्ष्मी र उनकी साथी बालाको अनुसन्धान मार्फत कुमारीको मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक अवस्थालाई नाटकले चित्रण गरेको छ। अष्टलक्ष्मी कुमारी घरबाट निस्केपछि मानसिक रूपमा एक्ली र विक्षिप्त बनेकी छिन्। समाज र प्रेमीहरूबाट प्रभावित अष्टलक्ष्मीलाई नारी शक्ति र महिमाको कथा सुनाएर अगाडि बढ्न उत्प्रेरित गरिन्छ।
नाटकमा मैजुलानीको वीराङ्गना कथा, राजा जयप्रकाश मल्ल र तुलजा देवीको कुदृष्टि, अनि कुमारी घर स्थापना जस्ता ऐतिहासिक गाथाहरू प्रस्तुत छन्। धार्मिक र सांस्कृतिक जीवन्तता, समकालीन मुद्दाहरू, जैसिदेवल र वसन्तपुर परिवेशका दृश्यहरू, नेवारी लयका धुनहरूले नाटकलाई थप आकर्षक बनाएका छन्।
कुमारी प्रथाले बालिकाहरूलाई समाजसँग घुलमिल हुन गाह्रो बनाउँछ भन्ने पक्षलाई नाटकले प्रत्यक्ष उठान नगरे पनि, अष्टलक्ष्मीको मानसिक पाटोलाई देखाउन सफल भएको छ। अन्तिम दृश्यमा महिलालाई घरको शोभा र शक्ति भनेर परिभाषित गर्ने संवादहरूले दर्शकलाई सोच्न बाध्य बनाउँछ।
लेखक चन्द्रप्रसाद पाण्डेय र निर्देशक झकेन बिसीको साहसिक प्रयासले नाटकलाई सशक्त बनाएको छ। कलाकारहरूको अभिनयले पनि नाटकलाई प्रभावशाली बनाएको छ।नाटकको मञ्चन, प्रकाश परिकल्पना, संगीत संयोजन, र कोरियोग्राफी सबै पक्षले नाटकलाई सफल बनाएका छन्।नाटक ‘अग्निचक्षु’ जेठ ३२ गतेसम्म मञ्चन हुनेछ।