Sunrise appliances
Homeअन्यप्रदेशज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

ज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

टीकापुर (कैलाली), २१ पुस : कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ ।

वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्तिनाथ रेग्मीले जानकारी दिए । “घरमा एक्लो हुँदा अधिकांश ज्येष्ठ नागरिक दिक्क भएका छन् । उनीहरुसँग बोलिदिने व्यक्ति छैन”, “सन्तानको समय नपाएका ज्येष्ठ नागरिकलाई हामीले १० दिन भए पनि मनोरञ्जनसहित ज्ञान सिकाउने अवसर जुटाएका छाँै ।”

योग प्रशिक्षक टीकाराम आर्य ज्येष्ठ नागरिक एक्ला हुँदा मनमा अनेकथरि कुरा खेल्ने भएकाले मन शान्तिका लागि योग र ध्यानमा जोडिन आवश्यक रहेको बताउन्छन् । “बालबालिका मोबाइल र कापी किताबमा व्यस्त रहन्छन्, युवा अधिकांश विदेश छन्, ज्येष्ठ नागरिकसँग बोल्ने कोही छैन”,“ज्येष्ठ नागरिक घरको काम गर्ने तथा घर स्याहार्ने जिम्मेवारीमा छन् । यस्तो बेला उनीहरुलाई मानसिक तनाव हुन थालेको छ ।” योग प्रशिक्षक आर्यले उनीहरुलाई मनोरञ्जन सहितको वातावरण आवश्यक पर्ने बताए ।

वृद्ध सेवा समितिका सचिव लोकराज रेग्मीले ज्येष्ठ नागरिक ज्ञानका भण्डार भए पनि उनीहरुमा भएको सीप र ज्ञानको सदुपयोग हुन नसकेको बताए । “ज्येष्ठ नागरिकबाट सन्तानले धेरै कुरा लिएका हुन्छन् । ज्येष्ठ नागरिकको उमेर ढल्कदै जाँदा बच्चाजस्तै स्याहार सुसार र पालन पोषणमा ध्यान दिनुपर्ने हुन्छ तर सन्तानले त्यसो गर्न सकिरहेका देखिँदैन”, उहाँ भन्नुहुन्छ, “सन्तानले आफ्नो भविष्यकै बढी चिन्ता गर्दा उनीहरुले स्याहार नपाएको अवस्था छ ।”

बुढेसकालमा पनि सन्तानकै चिन्ता

ज्येष्ठ नागरिक बुढेसकालमा पनि सन्तानकै बारेमा बढी चिन्ता गर्छन् । जो कोहीलाई लाग्न सक्छ की वयस्क मानिस जसले बालबच्चा हुर्काइरहेको छ, जसले घर सम्हाल्नुपर्छ उसलाई बढी चिन्ता होला तर त्यसो हुँदैन । जवान मानिसलाई मात्र होइन ज्येष्ठ नागरिकलाई पनि त्यतिकै चिन्ता लाग्छ ।

टीकापुरकी विन्द्रा न्यौपानेलाई आफ्नोभन्दा छोराछोरीको पीरले बढी सताउँछ । “छोराहरु रोजगारीका लागि भारतमा छन् । मलाई मेरो समस्याभन्दा उनीहरुकै पीरले सताएको छ”, “बुढेसकालमा दुःख पाइन्छ कि भन्ने पिर पनि छ ।”

टीकापुरकी उर्मिला अधिकारीलाई पनि बालबच्चाकै चिन्ता छ । ‘‘सन्तानसँगै भएमा सबै पिर हराउँछ’’, उहाँ भन्नुहुन्छ, ‘‘छोराछोरी टाढा छन् । अरु दुःखभन्दा मर्नेबेला सन्तान मुख निर छैनन् भन्ने कुरा मनमा खेल्छ ।’’

अर्की ज्येष्ठ नागरिक धना रावललाई निन्द्रा नलाग्ने समस्या छ । उमेर ढल्कदै छ । उनलाई विभिन्न स्वास्थ्य समस्याले पनि सताएको छ । ‘‘घरमा बुढाबुढी मात्र छौँ, सबै काम आफैँ गर्नुपर्छ’’, ‘‘आँखा देख्दिन, ढाड दुख्ने समस्या छ । यस्तो बेलामा निन्द्रा नलाग्ने समस्याले सताएको छ । मनमा अनेकथरि कुरा खेल्छन् ।’’

नन्दकला न्यौपानेलाई जीवनभरि दुःखले झेल्यो । उनका श्रीमान बेपत्ता भएको १५ वर्ष भयो । उनलाई बुढेसकाल लाग्दै गर्दा काम गर्न नसक्दा थप समस्या भएको छ । ‘‘जवान हुँदा पनि निकै दुःख पाइयो, अर्काको घरमा काम गरेर बालबच्चा स्याहारे’’, ‘‘अहिले पनि उस्तै दुःख छ । छोरा कमाउने भएको छैन । छोरा व्यवस्थित हुन सकेको भए मन शान्त हुने थियो ।’’

ज्येष्ठ नागरिकमा पनि पुरुषको तुलनामा महिला बढी समस्या भोगिरहेका हुन्छन् । एक्लोपन महसुस गर्ने ज्येष्ठ नागरिकका लागि टीकापुर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने गरेको छ । महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाह पालिकाले दिवा सेवा कार्यक्रममार्फत उनीहरुको एक्लोपन मेटाउन खोजेको बताए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू