Sunrise appliances
Homeअन्यप्रदेशआहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

घोडाघोडी (कैलाली), २७ पुस : झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप रमणीय र मनमोहक भएको छ । सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बरालले जानकारी दिए । अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उहाँको भनाइ थियो ।

“अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्”, चराविद् बरालले बताए, “यहाँको मौसम यो बेला अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले चराहरू आउँछन् ।” उनका अनुसार दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन् ।

सेप्टेम्बरको अन्तिम सातादेखि घोडाघोडी क्षेत्रमा एक हजार बढीको सङ्ख्यामा चराहरू आउने गरेका पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डङ्गौराले जानकारी दिए । “यो बेला ठूलो सङ्ख्यामा विभिन्न देशबाट हजारौँ किलोमिटरको यात्रा तय गरेर यहाँ चराहरू आउने गरेका छन्”, “यी चरा छ महिनासम्म यहाँ बसोबास गर्छन् ।” उनका अनुसार डिसेम्बरसम्म यहाँ आइपुगेका चरा मार्चमा फेरि आएकै ठाउँतिर फर्किन्छन् ।

“संसारमा चराका नौ वटा उडान मार्ग रहेको बताइन्छ । आगन्तुक चराको नेपालमा दुई उडान मार्ग पर्दछन् । मध्य एसिया उडान मार्ग हुँदै चराहरू घोडाघोडी पुग्छन् । त्यसमा फिस्टे तथा हाँस प्रजातिका चराहरूका साथै सामुद्रिक चराहरू पर्छन् । कहिलेकाहीँ खोया हाँस पनि यहाँ देखिने गरेका छन्”, चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए । उनका अनुसार घोडाघोडीमा अहिले आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दुरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।

चौधरीका अनुसार, “साइबेरिया, मङ्गोलिया, उत्तरी चीनलगायतका देशबाट अहिले घोडाघोडीमा आगन्तुक चराहरू आइपुगेका छन् । जाडो यामभरि यहाँका सिमसार क्षेत्रका साना ठूला तालमा ती चराहरू रमाउँछन् । फेरि यता गर्मी बढेपछि उतै फकिन्छन् ।”

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू