Sunrise appliances
Homeप्रदेशप्रदेश १वीरगञ्ज महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

वीरगञ्ज महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

वीरगञ्ज, ८ असार : वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा ‘वैभव वीरगञ्ज’को परिकल्पनालाई साकार पार्ने योजना अघि सारेको छ । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले १५औँ नगरसभाको अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘वैभव वीरगञ्ज’ को परिकल्पनालाई साकार पार्न वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकसित गर्दै यहाँको ऐतिहासक तथा मौलिकतालाई ध्यानमा राखी नगरवासीको उत्कट चाहनाबमोजिम वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाइने घोषणा गर्नुभएको छ । “वैभव वीरगञ्ज बनाउने अभियानबमोजिम यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नर्सिङ मन्दिर र भुटनदेवी मन्दिर निर्माणको कार्य आगामी आवदेखि अगाडि बढाइनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “महानगरका अन्य मठमन्दिरको आवश्यकताअनुसार पुनःनिर्माण र सौन्दर्यीकरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।”

महानगरको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन र आन्तरिक आय वृद्धिका लागि वीरगञ्ज–१७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनिक हरित पार्कसहितको ताल निर्माण कार्य अघि बढाइने उल्लेख गरिएको छ । नगरप्रमुख सिंहले वीरगञ्ज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक निजी साझेदारी र दातृ निकायसँगको समन्वयमा आधुनिक हरित पार्क निर्माणको कार्यलाई अगाडि बढाइने बताउनुभयो । महानगरले आगामी आवमा सिर्सिया नदीको दायाँबायाँ नक्साबमोजिम खोला क्षेत्र छुट्याई दुवैतर्फ सडक निर्माण, वृक्षारोपणद्वारा हरियाली प्रवद्र्धन गरी सिर्सिया हरित करिडोर विकास कार्य अघि बढाउन सबै तहका सरकारसँग सहकार्य गर्ने नीति लिने भएको छ ।

आगामी आवको नीति तथा कार्यक्रममा स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगञ्ज बनाउन महानगरले सुरु गरेको सरसफाइ अभियानलाई अझै कडाइका साथ लागू गरी जथाभावी फोहोर फाल्ने र फोहोर गर्ने व्यक्तिलाई जरिवाना तथा अन्य दण्ड सजाय गर्ने कार्यलाई निरन्तरता दिएको छ । “मुख्य सडकमा मात्रै नभई टोल–टोल र गल्ली–गल्ली सफाइ हुने गरी जनशक्ति परिचालन गर्नाका साथै सचेत बनाउने कार्यक्रम सञ्चालन गरिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “वीरगञ्जलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था लागू गरी फोहोर व्यवस्थापनलाई अझै बढी चुस्त बनाइने छ ।” सार्वजनिक स्थानमा ‘वाटर एटिएम’ महानगरले आगामी आवको नीति तथा कार्यक्रममा खानेपानी समस्या समाधान गर्न सार्वजनिक स्थानमा डिप बोरिङ गर्ने कार्यलाई निरन्तरता दिँदै नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा पाइपलाइन विस्तार गर्ने कार्यलाई तीव्रता दिने बताइएको छ ।

महानगरको मुख्य स्थान सामुदायिक विद्यालय, नारायणी अस्पताललगायत ठाउँमा ‘वाटर एटिएम’ प्रणाली स्थापना गरिने भएको छ । महानगरले नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा आर्थिक विपन्न परिवारको पहिचान गरी चार हजार घरधुरीमा धारा जडान गरिने गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरको अधीनमा ल्याइएको अतिक्रमित सार्वजनिक जग्गाको संरक्षणका लागि घेराबार तथा वृक्षारोपण गर्ने कार्यलाई अघि बढाइने कार्यक्रम पनि समावेश गरेको छ । महानगरले आगामी आवमा वीरगञ्ज महानगरपालिका र विभिन्न निकायको समन्वयमा महानगरभित्रको खानेपानी, ढल तथा दिसाजन्य लेदो व्यवस्थापन गर्ने नीति अघि सारेको छ । वीरगञ्ज–जितपुर–सिमरा करिडोरको व्यवस्थित निर्माणका लागि सरोकारवाला निकायसँग समन्वय गरी विस्तृत परियोजना निर्माणको कामलाई अघि बढाइने बताइएको छ ।

नगरप्रमुख सिंहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्दै रोजगारीको सृजना गर्न सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा वडा नं ३१ मा औद्योगिक ग्राम स्थापना गर्ने कार्य अगाडि बढाइने बताउनुभयो । महानगरले आगामी आवमा स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लाग गर्ने भएको छ । “प्राथमिक तहमा मातृभाषामा नै पठनपाठनको व्यवस्था मिलाइनेछ, भोजपुरी प्रतिष्ठानलाई पुनः सक्रिय बनाई भोजपुरी भाषा र साहित्यको संवद्र्धन गरिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट सुरु गरिएको शिक्षण कार्यलाई विस्तार गरिनेछ ।” महानगरले आगामी आवको नीति तथा कार्यक्रमा वीरगञ्ज महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना तथा अन्य व्यावसायिक प्रयोजनका लागि स्थापना गरिएका भवनहरुको अनिवार्य रुपमा नक्सापास गर्ने कार्यलाई कडाइका साथ लागू गर्ने भएको छ । “नक्सा पास नगरी निर्माण भएका संरचनालाई स्थानीय सरकार सञ्चालन ऐनबमोजिम नियमनको दायरामा ल्याइनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू