गण्डकी, ११ फागुन : गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण गरेका छन् । समाजमा ज्येष्ठ नागरिकको अवस्थाको जानकारीसँगै अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ अन्तर आश्रम भ्रमण गरिएको गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकहरूको समूहले शिव, पार्वती वृद्धाश्रम, रामदी स्याङ्जाका साथै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक पर्यटकीय गन्तव्यको भ्रमणसमेत गरेको थियो । शिव, पार्वती वृद्धाश्रम रामदी स्याङ्जामा भएको भेटघाट तथा छलफलमा पोखरा वृद्धाश्रमका अध्यक्ष एवं गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष पराजुलीले असहाय, बेवारिसे ज्येष्ठ नागरिकमात्र नभई अपहेलित र अन्यायमा परेका सबै ज्येष्ठ नागरिकको मानवअधिकारका न्यूनतम आवश्यकता राज्यले पूरा गर्नुपर्ने बताउनुभयो ।
राज्यका कानुन ज्येष्ठ नागरिकमैत्री बन्नुपर्नेमा जोड दिँदै उहाँले ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कास्की ज्येष्ठ नागरिक सङ्घका सचिव भीमप्रसाद सुवेदी, पोखरा वृद्धाश्रमका सल्लाहकार लीलाधर भट्टराई, राजेश श्रेष्ठलगायतले ज्येष्ठ नागरिकका अनुभव नयाँपुस्ताका लागि प्रेरक हुने बताउँदै उनीहरूको सम्मानित जीवनयापनमा राज्यले जोड दिनुपर्ने बताउनुभयो ।