Sunrise appliances
Homeप्रदेशप्रदेश ७माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका

माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका

कञ्चनपुर । माटोका भाँडाकुँडा बनाएर  शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन् । बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हादै आएका छन् । 

वर्षौंदेखि यहाँ बस्दै आएका उनीसँग चार कठ्ठा चार धुर जग्गाको  २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टा भर्ना पाउन भने सकेका छैनन् । तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उनले सट्टा भर्ना नपाएका हुन् ।“देशमा त्यस बेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो” उनले भने, “जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन ।” 

वार्षिक रु चार लाख कमाइ हुने उनी बताउछन् ।  माटो, दाउरा, जग्गाको भाडा, कामदारको ज्यालामा रु दुई लाख ५० हजार जति खर्च हुने गरेको छ । बचेको रकमले घरखर्च चल्ने गरेको उनले बताए । “परिवारको लत्ताकपडादेखि राशनपानीमै काम गरेर कमाएको रकम खर्च हुन्छ” उनले भने, “बिरामी परे अरुसँग सापटी लिनुपर्दछ ।”व्यवसाय दर्ता गरेर उनले काम गर्दै आएका छन् । तर अन्य भारतीयले भारतबाटै भाँडाकुडा ल्याएर सस्तोमा बिक्री गर्दा उनको व्यवसाय सङ्कटमा परेको छ ।

“अवैध रुपमा बजार क्षेत्रमा भारतीयले माटोका भाँडाकुँडा खुला सीमा नाका हुँदै राजस्व नतिरेर भित्र्याउने गरेका छन्” उनले भने, “मेरै नाम लिएर बेच्छन्, वडा कार्यालय र प्रहरीलाई यसबारे खबर गर्दा पनि अवैध कारोबार नरोकिँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ, परिवारको रोजीरोटी खोसिन थालेको छ ।”अन्य काम गर्नेका लागि सरकारले अनुदानको व्यवस्था गर्दै आए पनि कुमालेका लागि कुनै कार्यक्रम नहुँदा उनी हतोत्साहित भएका छन् ।

वडाध्यक्ष नवलसिंह रानाले पूर्खौँदेखि वीरपालको परिवारले काम गर्दै आए पनि नागरिकता नपाउदा अनुदानलगायत सुविधाबाट वञ्चित रहनुपरेको बताए। “कानुनी प्रक्रिया पूरा गर्न नागरिकता चाहिन्छ” उनले भने, “त्यो नभएपछि कुनै पनि कार्यक्रममा समावेश गर्न सकिदैन ।”

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू