Sunrise appliances
Homeअन्यप्रदेशइजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

बेदकोट (कञ्चनपुर), १ कात्तिक : द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।

स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताउनुभयो । उहाँ १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आउनु भएको थियो । “अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन । सानो सानो भइरहेको हुन्थ्यो”, उहाँले भन्नुभयो, “घटनापछि डर लाग्यो । सुरक्षित महसुस गर्न सकिएन । त्यसैले स्वदेश फर्किएँ । यहाँ आएपछि निकै खुसी लागेको छ ।”

इजरायलबाट उद्धार गरिएका गुरुङसहित सात जना पश्चिम सीमा नाका गड्डाचौकीबाट स्वदेश फिर्ता भएका छन् । सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ मध्ये सात जना आज बिहान गड्डाचौकी नाका भएर महेन्द्रनगर पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार इजरायलबाट भारत हुँदै गड्डाचौकी पुगेका उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउन यातायातको व्यवस्थापन गरिएको छ । “१८ जनामध्ये कोही विमानमार्फत घर गएका छन् । कोहीले भारतमै परिवारका सदस्यसँग भेटेका छन्”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “सात जना गाडीमार्फत महेन्द्रनगर पुगेका छन् । उहाँहरुलाई घरसम्म पुर्‍याउने तयारी गर्दैछौँ ।” भारत सरकारले आफ्ना नागरिकसँगै १८ नेपालीलाई पनि विमानमार्फत दिल्ली ल्याइदिएको उहाँले बताउनुभयो ।

काठमाडौँका नागरिकलाई विमानमार्फत पठाउने तयारी भइरहेको थापाले जानकारी दिनुभयो । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । इजरायल र प्यालेस्टाइनको युद्धपछि फसेका दुई सय ५४ नेपालीलाई पहिलो चरणमा सरकारले नेपाल वायुसेवा निगमको जहाजमार्फत ल्याइसकेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू