Sunrise appliances
Homeप्रदेशप्रदेश ७ऐतिहासिक पुरैना तालको रेखाङ्कन

ऐतिहासिक पुरैना तालको रेखाङ्कन

कैलाली-  वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका-७ स्थित ऐतिहासिक पुरैना तालको रेखांकन हुने भएको छ। २०६४/ ०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व संकटमा परेको थियो। ताल पुरिएसँगै स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिनका लागि रेखांकनको काम अगाडि बढाइएको हो। नापी कार्यालय कैलालीले तालको रेखांकनका लागि दुई अमिनलाई कार्यस्थलमा पठाएको छ।

नापी कार्यालय कैलालीका प्रमुख इन्द्र बहादुर देउवाले डिभिजन वन कार्यालय पहलमानपुर कैलालीको आग्रहमा तालको रेखांकनका लागि अमिन खटाएको बताए। ‘हाम्रो कार्य क्षेत्रभित्र पुरैना ताल पर्ने भएका कारण हामीले तालको नक्साअनुसारको रेखाकंन गर्ने काम गर्ने हो, ‘ उनले भने, ‘त्यसपछिको बाँकी काम स्थानीय तह र वन कार्यालयले गर्नुहुन्छ होला।’

तालको रेखांकनको लागि फिल्डमा खटिएका अक्षय कठरियाले स्थानीय तहसँग समन्वय गरेर काम अगाडि बढाइएको बताएका छन्। उनले नगरपालिकाका जनप्रतिनिधिसँग आवश्यक छलफल पछि तालको नक्साअनुसारको रेखांकन सुरु गरिएको जानकारी दिए।

‘हामीले नक्साअनुसार तालको रेखांकन गर्ने हो। यसका लागि हाम्रो टिमसँगै जनप्रतिनिधि पनि सँगै हुनुहुन्छ, ‘ उनले भने,  ‘स्थानीय नागरिकहरूसँग पनि सहजीकरण गरेर कार्यालयबाट पाएको जिम्मेवारी पूरा गर्छौं।’

यसअघि कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलगायतको टोलिले तालको स्थलगत निरीक्षण गरेका थिए। तत्कालीन समयमा तालको रेखांकन गर्दै तालको क्षेत्र छुट्याउने सहमति स्थानीयसँग भएको थियो। अतिक्रमणमा परेको तालको जग्गामा हिउँदे बाली लगाइसकेको हुँदा बाली भित्र्याए पछि सो जग्गामा खेती नगर्ने जनाउँदै स्थानीयसँग सहमतिसमेत भएको थियो। त्यसैअनुसार तालको काम अगाडि बढाइएको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिए।

‘पुरैना ताल भजनीको मात्रै नभई सुदूरपश्चिम क्षेत्रकै महत्त्वपूर्ण जैविक क्षेत्र हो। यसको संरक्षणमा स्थानीय सरकारले सुरुदेखि नै प्रयास गर्दै आएको छ, ‘ उनी भन्छन्,  ‘त्यसमा स्थानीय नागरिकले पनि साथ दिनुभएको छ। तालको जग्गा खाली भएपछि त्यसको उत्खनन र त्यसपछिको कामको लागि बजेटको बजेटको सुनिश्चितता भने हुन सकेको छैन।’

उनले आगामी वैशाखबाट तालको सबै जग्गा खाली हुने विश्वास व्यक्त गरेका छन्।

स्थानीय नागरिक ताललाई पुनर्जीवन दिने कुरामा सकारात्मक देखिएका कारण तालको उत्खननको प्रक्रिया अगाडि बढाउन सकिएको सवडिभिजन वन कार्यालय भजनीका प्रमुख मोहम्मद शाहले बताए।

‘पटकपटक स्थानीयसँग पुरैना तालको विषयमा छलफल हुँदा उहाँहरू सकारात्मक देखिनुभएको छ, ‘ उनले भने,  ‘सबैको साथ सहयोग भयो भने ताललाई पुरानै अवस्थामा फर्काउन समस्या हुँदैन भन्ने लाग्छ।’

उनले आआफ्नो क्षेत्रबाट तालको अस्तित्वलाई फर्काउन लाग्नुपर्ने पनि बताए।

भजनी क्षेत्रका लागि छुट्टै महत्व बोकेको पुरैन तालमा बाह्रै महिना सारस पाइन्थ्यो भने जलचर जनावर र विभिन्न प्रजातिका चराको बासस्थानको रुपमा पुरैना ताललाई लिने गरिन्थ्यो। सयौं बिघा क्षेत्रफलमा फैलिएको ताललाई उत्खनन गरेर मानव निर्मित ताल बनाउन सकेपछि पनि पर्यटकीय सम्भावनालाई बढाउन सकिने जानकार बताउँछन्।

पुरैना तालसँगै रहेको बञ्जरिया ताल अझै जीवित अवस्थामा रहेको छ। सो क्षेत्रमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट जंगली जनावर पानीका लागि आउने गरेका छन्। तालले पुनर्जीवन पाउने भएपछि भजनीका स्थानीय खुसी भएका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू