Sunrise appliances
Homeप्रदेशप्रदेश ४चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

लकोट (बागलुङ)। ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । 

यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले रु २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ । करिब २१ विद्युत्का खम्बामा बत्ती राख्ने तथा रुखमा विद्युत्का बत्ती जोड्ने कार्य भइरहेको छ । 

 सामान्य उज्यालोका लाइट जोडिएको भए पनि जङ्गलमा हावाहुरी लाग्दा विद्युत् अवरुद्ध हुने भएकाले चैते दसैँदेखि सुरुवात गर्नेगरी भूमिगतरुपमा विद्युतीकरण गरिएको बागलुङ कालिका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

“चैते दसैँ यहाँको ऐतिहासिक मेला हो, चैते दसैँका अवसरमा कालिका मन्दिरमा सर्वाधिक भक्तजन आउने गर्दछन्, भक्तजनको आगमनलाई दृष्टिगत गर्दै अत्याधुनिक सिसी क्यामेरा जडान गर्ने, भक्तजनको सङ्ख्या गणना गर्ने क्यामेरा जडान गर्ने कार्य सकिएको छ, अहिले कालिका मन्दिर प्रवेशद्वारदेखि कालिका मन्दिरसम्मको एक किमी पदमार्गमा विद्युतीकरण गर्न थालेका छौँ, सामान्य उज्यालो मात्रै नभएर अत्याधुनिक विभिन्न रङका बत्तीले रातको समयमा समेत पर्यटकहरुलाई थप आकर्षित गर्ने लक्ष्य लिइएको छ ।”

कालिका मन्दिर परिसरका रुखमा लिपपोतस गरिएको उहाँको भनाइ छ । कालिका मन्दिरमा आउने भक्तजनको भीडलाई दृष्टिगत गर्दै सिसी क्यामेरा जडान भइसकेको छ ।

चैत दसैँका अवसरमा बागलुङमा आयोजना गरिने चैते दसैँ मेलाले स्थानीय सामग्रीको व्यापारमा ठूलो राहत दिँदै आएको छ । चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा चल्ने चैते दसैँ मेलामा सर्वाधिक पुरस्कार राशिको कालिका कप, राष्ट्रिय लोक दाहोरी गीत प्रतियोगितालगायत रमाइलो मेला आयोजना गर्न थालिएको छ । 

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिकस्थलका रुपमा रहेको कालिका मन्दिरमा यस पटक चैत्राष्टमी मेला एक हप्तासम्म मनाउन थालिएको र त्यसका लागि स्वरुप पदमार्गमा विद्युतीकरणको कार्य गर्न थालिएको हो । 

‘गन्तव्य बागलुङ कालिका : कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ चैते दसैँ मेलाका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

मेलाका अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ ।

बागलुङ सदरमुकाममा तीन सय वर्षदेखि चल्दै आएको चैते दसैँ मेलामा बर्सेनि पाँच लाख धार्मिक पर्यटक भित्रिँदै आएका छन् । चैते दसैँका अवसरमा बोका, हाँस, कुखुरा, राँगो सयौँको सङ्ख्यामा बलि दिने चलन छ । 

ऐतिहासिक रूपमा हुँदै आएको चैते दसैँ मेलामा विगतभन्दा यस वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताए । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू