Sunrise appliances
Homeप्रदेशप्रदेश ३सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

काठमाडौँ : वाग्मती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ ।

मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुगेर स्थानीयवासीले यस विषयमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको स्थानीय रञ्जन श्रेष्ठले गुनासो गर्नुभयो ।

वर्षाका बेला आउने धमिलो पानी खाँदा घाँटी दुख्ने, नुहाउँदा जीउ चिलाउनेलगायत समस्या हुने गरेको उहाँले सुनाउनुभयो । वर्षाका बेला लिमिटेडले सुन्दरीजल क्षेत्रमा पठाउने पानी धमिलो हुने गरेको स्थानीय रविना तामाङको भनाइ छ ।

सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा वाग्मतीको मात्र नभइ मेलम्चीको पानी पनि वितरण गरिन्छ । वाग्मतीबाट वर्षामा दैनिक १३ करोड र हिउँद याममा दैनिक नौ करोड लिटर पानी राजधानीको मुख्य सहरमा वितरण गरिन्छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट २६ दशमलव पाँच किमी सुरुङ मार्ग हुँदै आउने १७ करोड ५० लाख लिटर पानी सुन्दरीजल महाङ्कालस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन भएर काठमाडौँ उपत्यकामा वितरण हुने गरेको छ । हिउँदमा आउने मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुन्छ ।

जसले गर्दा राजधानीवासीले खानेपानीको समस्याबाट उन्मुक्ति पाउन सकेका छैनन् । गत सातामात्र मेलम्चीको पानी राजधानीमा वितरण बन्द गरिएको थियो । सुन्दरीजलवासीको खानेपानी समस्या समाधानमा स्थानीय सरकारले लामो समयदेखि मौन बस्दै आएको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगर क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम गरिरहेको बताउनुभयो ।

केही क्षेत्रको खानेपानी समस्या समाधान भए पनि मुहान क्षेत्र सुन्दरीजलमै समस्या भोग्नुपरेको गुनासो आइरहेको उहाँले स्वीकार गर्नुभयो । लिमिटेडले समयमै काम नगर्दा सुन्दरीजल क्षेत्रमा हिउँदमा पानी नआउने, वर्षामा आउँदा धमिलो आउने गरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू