चितवन: मुग्लिन,मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले भने नक्शांकन, वर्षात् र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताए। यहाँ सम्झौता गर्ने बेलाको नक्शांकन परिवर्तन गर्नुपरेको र त्यस कार्यमा छ महिना लागेकाले पनि काममा ढिलाइ भएको उनले बताए।
ई आचार्यका अनुसार यो खण्डमा रहेका आठवटा पुलमध्ये पाँच पुल निर्माण, नाली, मोड सुधार, टेवा पर्खाल निर्माण, कल्भड विस्तार र सडक चौडाइ गर्ने काम भइरहेका छन् । सडकखण्डमा छवटा पुल निर्माणका लागि ठेक्का लागेकामा हुग्दी खोलास्थित पुलमा केही व्यवस्थापकीय काम बाँकी रहेकाले निर्माण अगाडि बढेको छैन ।
विश्व बैंकको आर्थिक सहयोग रहेको यो खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शर्मा–जेडआई सिजी जेभीले चार अर्बमा ठेक्का पाएको छ । हाल सात मिटर चौडाइ रहेको सडकका केही ठाउँमा दुई लेनको बनाउन कम्तीमा नौ मिटर चौडाइ बनाइने र बाक्लो बस्ती भएका विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटार गरी चार स्थानमा सात दशमलव १५ किलोमिटर सडक चार लेन बनाइने आचार्यले बताए।
चार लेन सडक १४ मिटर फराकिलो हुनेछ । यस्तै तीन किलोमिटर उकाला ठाउँमा तीन लेन सडक बनाइने र यसको चौडाइ १० दशमलब पाँच मिटर हुनेछ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नु परेकाले निर्माण कार्यलाई तीव्रता दिन नसकिएको आयोजनाले जनाएको छ ।
“सडक निर्माणमा धेरै समय लागेमा यात्रुले थप हैरानी बेहोर्नुपर्ने हुन्छ । यसकारण छिटो काम सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गर्दै आएका छौँ । अब बर्षात्को समयमा काम गर्न कठिन हुने भएकाले आगामी हिउँदमा कामले तीव्रता पाउने छ”, सूचना अधिकारी ई कृष्ण आचार्यले भने।