काठमाडौं – सरकारसँग ऐतिहासिक ९ बुँदे सहमति भएपछि शिक्षक आन्दोलनको एक महिन लामो संघर्षपूर्ण यात्रा बुधबार समाप्त भएको छ। शिक्षा क्षेत्रमा सुधार र शिक्षक अधिकार सुनिश्चित गर्नका लागि नेपाल शिक्षक महासंघको अगुवाइमा चैत तेस्रो साताबाट सुरु भएको आन्दोलन बुधबार शिक्षामन्त्री रघुजी पन्त र शिक्षक प्रतिनिधिहरूबीचको सहमतिसँगै फिर्ता गरिएको हो।
शिक्षक आन्दोलनसँग सम्बन्धित प्रमुख मागहरूलाई समेटिएको ९ बुँदे सहमति मन्त्रिपरिषद्बाट बुधबार साँझ औपचारिक रूपमा पारित भइसकेको छ। यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको छ, र विद्यालयहरू बिहीबारदेखि नियमित रुपमा सञ्चालनमा आउने भएका छन्। यसले लामो समयदेखि पठनपाठनबाट टाढा रहेका विद्यार्थीहरूका लागि नयाँ आशा र उत्साह ल्याएको छ।
देशभरका विद्यालय बन्द गराउँदै काठमाडौंमा केन्द्रित भएको यो आन्दोलनले शिक्षा नीति, शिक्षकको गरिमा र स्थायित्वप्रति राज्यको गम्भीर ध्यानाकर्षण गराएको छ। यस अवधिमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण कार्य अवरुद्ध भएको थियो भने कक्षा १२ को परीक्षा पनि स्थगित भइसकेको छ। स्थगित परीक्षा अब वैशाख २१ गतेबाट सुरु हुने मिति तय भइसकेको छ।
शिक्षक आन्दोलनले दिएको सन्देश स्पष्ट छ – शिक्षाको गुणस्तर र शिक्षकको सम्मान दुबै सुनिश्चित नभएसम्म दिगो शिक्षा प्रणाली सम्भव छैन। सहमति कार्यान्वयनमा शिक्षामन्त्रीको प्रतिबद्धता र महासंघको नेतृत्वले अब शिक्षामा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।
शिक्षा क्षेत्रको सुधारका लागि यो सहमति एक महत्वपूर्ण कोसेढुंगाको रूपमा लिइएको छ।