झापा, ४ फागुनः जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो । सो अवसरमा प्रहरीले उहाँका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई–छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो । घटनामा संलग्न सौगात भने फारर रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो । लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने उहाँको भनाइ छ ।




