Sunrise appliances
Homeखेलकुदचालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी, २० जेठः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । “व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ”, उहाँले भन्नुभयो । खेलाडीलाई फुर्सदको समयमा ब्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको रु १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताउनुभयो । गाउँपालिकाबाट विनियोजित रु ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको रु पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ । क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिनुभयो । खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू