कीर्तिपुर नगरपालिका वडा नं १ को आयोजना तथा विभिन्न वडाका टिमहरूको सहभागितामा सम्पन्न कीर्तिपुर नगर अन्तर वडा पुरुष, महिला तथा भेट्रान बास्केटबल प्रतियोगिता आज समापन भएको छ। प्रतिस्पर्धात्मक र रोचक खेलका माध्यमबाट विभिन्न विधामा विजेताहरू चयन भएका छन्।
भेट्रान तर्फको नतिजा
भेट्रानतर्फ वडा नं १० ‘ए’ टिमले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो। यस विधाको उपविजेता भने वडा नं ९ ‘बी’ टिम रह्यो। व्यक्तिगत प्रदर्शनको आधारमा वडा नं १० का दिपेन्द्र महर्जनले एमभीपी (मस्ट भ्यालुएबल प्लेयर) को उपाधि हात पारे।
पुरुष तर्फको नतिजा
पुरुष तर्फको उपाधि वडा नं १ ‘ए’ टिमले जित्न सफल भयो। उपविजेता वडा नं ३ ‘ए’ टिम रहेको थियो। उत्कृष्ट प्रदर्शनका लागि वडा नं १ का इनाप महर्जनले एमभीपीको उपाधि पाएका थिए।
महिला तर्फको नतिजा
महिला तर्फको खेलमा वडा नं १० को टिमले विजेता बन्ने गौरव हासिल गर्यो। उपविजेता वडा नं ४ रहेको थियो। व्यक्तिगत प्रदर्शनको आधारमा वडा नं १० की प्रेदिका महर्जनले एमभीपीको उपाधि प्राप्त गरिन्।
फाइनल खेलपछिको समापन समारोहमा विजेता तथा उपविजेता टिमहरूलाई प्रमाणपत्र, पदक, र ट्रफी प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा नं १ का अध्यक्ष इच्छाकुमार महर्जनले खेलाडीहरूलाई बधाई दिँदै यस्ता प्रतियोगिताले युवा तथा खेलकुदको क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने उल्लेख गरे।
समारोहमा वडा नं १० का अध्यक्ष नरेश महर्जन र वडा नं ३ का अध्यक्ष सुबिन्द्र महर्जनको पनि उपस्थिति रहेको थियो। आयोजकको तर्फबाट प्रतियोगिताको सफलताका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिएको थियो।
प्रतियोगिताले कीर्तिपुर क्षेत्रका खेलकुद प्रेमीहरूलाई एकताबद्ध गर्न र स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिवद्धता गरिएको छ।
तस्बिर : बिरेन्द्र शाक्य