काठमाडौँ – नेपाल एपीएफ स्कूल, कीर्तिपुरको आयोजनामा दोस्रो NAPFS अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक कप फुटबल प्रतियोगिता २०८१ जारी छ। माघ २० गतेदेखि सुरु भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका फुटबल टोलीहरूले सहभागिता जनाएका छन्। प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल नेपाल मानवस्रोत विभाग एवं विद्यालय व्यवस्थापन समितिका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशी राज दाहालले गरेका थिए।

उद्घाटन समारोहमा प्रमुख अतिथि दाहालले विद्यालयस्तरीय खेलकुद प्रतियोगिताहरू विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै, यस्ता प्रतियोगिताले खेलाडीहरूलाई अनुशासन, समर्पण र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्ने बताए। सोही अवसरमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल विशेष अतिथिका रूपमा उपस्थित थिए। प्रतियोगिताको समापन फाल्गुन ८ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा गरिनेछ।
प्रतियोगिताको प्रतिस्पर्धात्मक माहोल
यस प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालय, काभ्रे जिल्लाबाट १ विद्यालय र बाँके जिल्लामा अवस्थित नेपाल एपीएफ स्कूल कोहलपुरको १ विद्यालय गरी जम्मा १८ विद्यालयका १९ टोलीले सहभागिता जनाएका छन्।

प्रतियोगिताको पहिलो खेलमा नेपाल एपीएफ स्कूल कीर्तिपुर (ए) ले पुष्प सदन बोर्डिङ स्कूल कीर्तिपुरलाई ९–0 को फराकिलो अन्तरले पराजित गर्यो। नेपाल एपीएफ स्कूलकीर्तिपुर (ए) का बिकास बोहोराले उत्कृष्ट प्रदर्शन गर्दै ५ गोल गरे भने बिनम खाम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १/१ गोल गरेका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिकास बोहोरालाई ‘म्यान अफ द म्याच’ घोषणा गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशी राज दाहालले ट्रफी प्रदान गरे।

आगामी खेलहरू
प्रतियोगिता अन्तर्गत भोली नेपाल एपीएफ स्कूल कीर्तिपुर (ख) र राराहिल मेमोरियल स्कूल कीर्तिपुर तथा नेपाल पुलिस स्कूल साँगा र बागभैरव सेकेन्डरी स्कूलबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै भविष्यका सम्भावित फुटबल खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास गरिएको छ