कीर्तिपुर, माघ २७ – दोस्रो NAPFS अन्तरविद्यालय सशस्त्र आईजी रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८१” अन्तर्गत आज सम्पन्न खेलहरुमा नेपाल पुलिस स्कुल साँगा र नेपाल एपीएफ स्कुल कीर्तिपुरले प्रभावशाली जित हात पारेका छन्।

पहिलो खेलमा नेपाल पुलिस स्कुल साँगाले न्यू होराइजन एकेडेमी, काठमाडौंलाई ८-० को फराकिलो अन्तरले पराजित गर्यो। नेपाल पुलिस स्कुलका लागि मेस्सि विर बिक्रम शाह र सिवन पराजुलीले समान तीन-तीन गोल, जबकि युकेश लामा र दिप्सन पाण्डेले एक-एक गोल गर्दै टोलीलाई शानदार जित दिलाए।

त्यस्तै, दोस्रो खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुरले राई स्कुल, नक्साललाई ७-० को एकपक्षीय अन्तरले हराउँदै आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्यो। यस खेलमा विकास बोहोराले चार गोल, विनम खाम्चाले दुई गोल, र अमन भगतले एक गोल गर्दै नेपाल एपीएफ स्कुललाई सहज जित दिलाए।

खेल समाप्तिपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरिएको थियो। नेपाल पुलिस स्कुल साँगाका मेस्सि विर बिक्रम शाह र नेपाल एपीएफ स्कुल, कीर्तिपुरका दिपेश गुरुङ्गलाई “प्लेयर अफ द म्याच” ट्रफी प्रधानाचार्य युवराज पराजुली र सहायक प्रधानाचार्य राजकुमार प्याकुरेलले प्रदान गरे।

भोली हुने प्रिक्वार्टरफाइनल खेलहरू:
भोलि मिति २०८१ माघ २८ गते निम्न प्रिक्वार्टरफाइनल खेलहरू हुनेछन्:
१. ग्रिन भिलेज एजुकेशन फाउन्डेसन, कीर्तिपुर विरुद्ध ग्रिन भिलेज सेकेन्डरी स्कुल, कीर्तिपुर
२. नेपाल एपीएफ स्कुल, कीर्तिपुर (B) विरुद्ध लेबोरेटरी माध्यमिक विद्यालय, कीर्तिपुर

प्रतियोगिताको रोमाञ्चक मोडमा प्रवेशसँगै फुटबलप्रेमीहरू उत्साहित देखिएका छन्।
