काठमाडौं, फागुन २ – किर्तिपुर नगरपालिका र युनिक युनाइटेड किर्तिपुरको संयुक्त आयोजनामा स्वर्गीय राजकुमार नकर्मीको सम्मानमा प्रथम ‘राजकुमार नकर्मी स्मृति फुटसल प्रतियोगिता’ आगामी फागुन ९ र १० गते आयोजना हुने भएको छ। प्रतियोगिता किर्तिपुर-३, खासीबजारस्थित इलाईट फुटसल मैदानमा सञ्चालन गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूको लागि दर्ता प्रक्रिया खुला गरिएको छ। आयोजकका अनुसार प्रत्येक टिमले रु ८,००० टिमदर्ता शुल्क बुझाएर सहभागिता जनाउन सक्नेछन्। खेल क्षेत्रको प्रवर्द्धन गर्दै किर्तिपुरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।
प्रतियोगितालाई सफल बनाउन स्थानीय समुदाय, खेलप्रेमीहरू तथा सम्बन्धित निकायहरूको सहकार्य आवश्यक रहेको आयोजकहरूले बताएका छन्। साथै, यो प्रतियोगिता खेलकुदमैत्री वातावरण निर्माण गर्दै स्वर्गीय राजकुमार नकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको हो।
यसै सन्दर्भमा आज किर्तिपुर नगरपालिकाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सम्बन्धी जानकारी दिइएको थियो।