काठमाडौं, – नेपाल एपीएफ अस्पताल, बलम्बु, आफ्नो २३औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा लन टेनिस कोर्टको समुद्घाटन समेत गरिएको छ।
समारोहका प्रमुख अतिथि महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट सेवा प्रदान गरेको योगदानको कदरस्वरूप पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
उक्त अवसरमा महानिरीक्षक अर्यालले अस्पतालको सेवा तथा पूर्वाधार विस्तारलाई अझ सुदृढ बनाउन सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताउँदै, कर्मचारीहरूको सेवा भावनालाई उच्च सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
नेपाल एपीएफ अस्पतालले सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। २३ वर्षको यात्रामा संस्थाले आधुनिक चिकित्सा सेवा, पूर्वाधार विकास तथा सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ।