Sunrise appliances
HomeUncategorizedपर्यटन गन्तव्य पहिल्याउन पदयात्रा

पर्यटन गन्तव्य पहिल्याउन पदयात्रा

महोत्तरी, ७ माघ : चुरे पर्वत श्रेणीका शृङ्खला वरपर पर्यटकीय गन्तव्य पहिल्याउन महोत्तरीमा पदयात्रा थालिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्ने चुरे पर्वत श्रेणीमा पर्यटकीय गन्तव्य पहिल्याउन बर्दिबास उद्योग वाणिज्य सङ्घले पदयात्रा थालेको हो ।

“स्थानीय समृद्धिको आधार पहिल्याउन पर्यटन मुख्य आधार हुनसक्ने हुँदा त्यस्ता ठाउँ पहिल्याउन पदयात्रा थालेका छौँ”, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले भने, “पहिलो दिनको पदयात्रामै गिद्धबास, सिद्धगुफा र पाषाणकालीन हतियार कारखाना क्षेत्र पुगेपछि उत्साह बढेको छ ।”

पदयात्राको पहिलो दिन शनिबार चुरे पर्वत श्रेणीमा लोपोन्मुख पक्षी गिद्धको बासस्थान, तपस्यारत लामाको गुफा, परेवापाखा र धार्मिक क्षेत्र राई मण्डलको अवलोकन गरिएको पदयात्रीले बताएका छन् । बर्दिबासमा पर्यटकको बसाइ लम्ब्याउन र पाहुनालाई नयाँ ठाउँको अवलोकन गराउन यी ठाउँ निकै महत्वपूर्ण हुने पदयात्रीको भनाइ छ ।

पदयात्रामा उद्यमी, व्यापारी, होटल तथा पर्यटन व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन् । बर्दिबासचोकबाट १५ किलोमिटरभित्र लोपोन्मुख पक्षी गिद्धको बासस्थान भेटिएको छ । यो ठाउँ पक्षीसम्बन्धी अध्ययन गर्न र घुमफिरका लागि राम्रो गन्तव्य हुनसक्ने यात्रामा सहभागी नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालको भनाइ छ ।

बर्दिबास–३ को राईमण्डल शिरमा घनाजङ्गलबीच लामाले सिद्धि प्राप्त गर्न तपस्या गर्ने गुफा फेला परेका छन् । राईमण्डल फाँटमा सत्ययुगमा देवताका राजा इन्द्रले श्री महादेवको तपस्या गरेर प्रसन्न गराएका जनश्रुति छ । त्यतिखेर इन्द्रले स्थापना गरेका शिवलिङ्ग इन्द्रेश्वर महादेवका नाउँले प्रसिद्ध छन् । पाटुमा पाषणकालीन हतियार कारखानाका अवशेष भेटिएका छन् । यी ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बर्दिबास–३ का वडाअध्यक्ष विराट बिष्ट बताए ।

“सम्भावना त हाम्राबीच नै रहेछन्, यिनको पहिचान र व्यवस्थापन गर्नसके बर्दिबास पर्यटकीय नगरी बन्नसक्ने देखिन्छ”, पहिलो दिनको पदयात्रामा सहभागी पूर्वमन्त्री गिरिराजमणि पोखरेल भन्नुहुन्छ, “यस दिशामा स्थानीय तहले पहिलो पहलकदमी बढाउनुपर्छ, सहयोग थपिन वा बढ्न स्थानीय तहको भूमिका मुख्य पक्ष बन्छ ।” यसपटकको पदयात्रामा जिल्लामा पर्ने चुरे पर्वत श्रेणीका पर्यटनका लागि सम्भावित बढीभन्दा बढी ठाउँको अवलोकन गर्नेगरी तालिका बनेको आयोजक संस्था बर्दिबास उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

“यस क्रममा प्रसिद्ध धार्मिकस्थल पञ्चधुरा माईस्थान, टुटेश्वरनाथ महादेव मन्दिर, चुरे पर्वत श्रेणीकै सबभन्दा अग्लो मानिएको चनौटेडाँडा, चुरेकाछका बस्ती, नदीनाला र जलाधार क्षेत्रसहितका रमणीयस्थल पनि हामी पुग्छौँ,” सङ्घका अध्यक्ष खड्का भन्छन्, “यो पदयात्राले ठम्याएका सम्भावित पर्यटकीय गन्तव्यबारे आवश्यक अध्ययन र काम बढाउन तीनै तहका सरकारको ध्यानाकर्षण हुने विश्वास छ ।” पदयात्राले यहाँका पर्यटकीय गन्तव्यको पहिचान र व्यवस्थापनबारे सार्वजनिक चासो बढाउनु आपूmहरुको अहिलेको मुख्य ध्येय रहेको पदयात्रीले स्पष्ट पारेका छन् ।

पदयात्राका क्रममा चुरेकाछका बस्तीको रहनसहन, व्यवसाय र सांस्कृतिक परम्परा, भेषभूषा र अन्य पक्षबारे पनि अवलोकनको अवसर पाइएको पदयात्रीको भनाइ छ । यात्राको अन्तिम प्रतिवेदन तीनै तहका सरकारलाई ध्यानाकर्षणका लागि बुझाइने जनाइएको छ । महोत्तरीमा चुरे पहाडीक्षेत्रको खोँच करिब ३० किलोमिटर रहेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू